+
+
Shares

भिडियो हालेको कारण वडाध्यक्षको धम्की: सिरहाकी मोनिका शर्मालाई घरमै पुगेर दबाब

अनलाइनखबर Mukesh9815
11 months अगाडि
7 views

असोज २३-सिरहा।
सोनु मिश्र।

अविरल वर्षाको कारण गाउँमा पानी जमेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सिरहाको सिरहा नगरपालिका–१२ सारश्वरकी मोनिका शर्मालाई सोही वडाका वडाध्यक्ष शिवशंकर झाले घरमै पुगेर धम्की दिएको घटना सार्वजनिक भएको छ।

युवती शर्माले केही दिन अघि परेको लगातार वर्षाले गाउँको सडक र आफ्नै घरभित्र पानी पसेको दृश्य सामाजिक सञ्जालमा हालेकी थिइन्। उक्त भिडियो सार्वजनिक भएलगत्तै वडा अध्यक्ष झाले भिडियो हटाउन दबाब दिएका थिए। मोनिका शर्माले भिडियो डिलिट गर्न अस्वीकार गरेपछि अध्यक्ष झा स्वयं उनको घर पुगेर “भविष्यमा कुनै पनि सामग्री पोस्ट गर्नु अगाडि आफूलाई सोध्नुपर्ने” चेतावनी दिएका थिए, स्थानीय स्रोतले जनाएको छ।

घटनापछि सामाजिक सञ्जालमा व्यापक जनआक्रोश फैलिएको छ। नागरिक समाज र स्थानीय युवाहरूले वडाध्यक्ष झाको गैरजिम्मेवार व्यवहारको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्।

यसैबीच सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत कुमार यादवले मोनिका शर्माको पक्षमा खुलेर समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “साहसी महिला मोनिका शर्मा, तपाईं एक्लो हुनुहुन्न, हामी तपाईंको साथमा छौँ।”

मोनिका शर्माले पनि आफूले कुनै गलत उद्देश्यले भिडियो नहालेको बताउँदै, “मैले भोगेको पीडा समाजसँग बाँडेकी मात्र हुँ,” भन्ने प्रतिक्रिया दिएकी छन्।

यता, वडाध्यक्ष शिवशंकर झाले भने यस विषयमा कुनै प्रतिक्रिया जनाउन मानेका छैनन्। मेयर डा. नविन यादवले पनि हालसम्म घटनाबारे सार्वजनिक रूपमा केही प्रतिक्रिया दिएका छैनन्।