+
+
Shares

“सिरहामा बढ्दो सवारी दुर्घटनाविरुद्ध जनचेतना अभियान

अनलाइनखबर admin12345
11 months अगाडि
0 views

असार -८ सिरहा।
स्टार खबर।

पछिल्लो समय सिरहा जिल्लामा सवारी दुर्घटनाको संख्या बढ्न थालेपछि जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान र यातायात व्यवस्था कार्यालय लहानको संयुक्त आयोजनामा शनिबार लहान बजारमा प्रभातफेरि गर्दै सडक सुरक्षा सन्देश प्रवाह गरिएको छ।

बजारभरि विद्यार्थी, कर्मचारी, ट्राफिक प्रहरी र स्थानीयले सवारी दुर्घटना न्यूनिकरणसम्बन्धी नारा लेखिएका प्लेकार्ड बोकेर प्रभातफेरि गरेका थिए। साथै, सर्वसाधारणको ध्यान आकर्षण गराउन बैण्ड बाजाको साथमा कार्यक्रम सञ्चालन गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ८६१ सवारी दुर्घटनामा ७९ जनाको मृत्यु र १३७४ जना घाइते भएका छन्। यसअघि आर्थिक वर्ष ०८०/०८१ मा ६८ जनाको ज्यान गएको थियो। तीन वर्षयता सवारी दुर्घटनाको दर उच्च रहेको देखिएको छ।

कार्यक्रममा सहभागी मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले सवारी साधन नवीकरणलाई सहज बनाउन नयाँ यातायात ऐनले व्यवस्था मिलाएको जानकारी दिए। ‘धेरै वर्षदेखि नवीकरण नगरिएका सवारीको जरिवाना पूर्ण रूपमा छुट दिइएको छ,’ मन्त्री रायले बताए।

उनले अब १५ वर्षको एकमुष्ट लाइसेन्स नवीकरण हुने व्यवस्था र अनलाइन प्रणालीमार्फत शुल्क तिर्ने व्यवस्था लागु हुँदै गएको बताए। साथै, अटोमेटिक ट्रायल सेन्टर स्थापना प्रक्रियामा रहेको समेत जानकारी गराए।

उनले ट्राफिक नियमको उल्लंघनका कारण दुर्घटना बढिरहेको भन्दै नियमको कडाइका साथै सचेतनाको खाँचो औँल्याए।

‘सडकमा सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गरौं, दुर्घटना घटाऔं’ भन्ने सन्देश लिएर जनचेतना कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएका छन्।